मिखाइल गोर्बाचोफ: सोभियत सङ्घका अन्तिम नेताको निधन

२०७९, १५ भाद्र बुधबार

बीबीसी– शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको छ।

उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ।

गोर्बाचोफको विरासत

तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोफले सोभियत सङ्घलाई खुला गर्ने नीति अँगाले। तर उनले सोभियत सङ्घको विघटन रोक्न सकेनन्।

उनी सन् १९८५ देखि सन् १९९१ सम्म नेतृत्वमा रहे।

उनको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति प्रदान गर्‍यो।

सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले यस्तो शृङ्खलाबद्ध घटनाक्रम निम्त्यायो कि त्यसले अन्तत: सोभियत सङ्घकै विघटनसम्म पुर्‍यायो।

कतिपय रुसीहरूले सोभियत सङ्घको विघटनका कारण गोर्बाचोफलाई कहिल्यै माफी दिएनन्।

गोर्बाचोफ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्घका नेता बनेका थिए।

त्यतिखेर शक्तिशाली पोलिटब्यूरोमा उनी सबैभन्दा कान्छा सदस्य थिए।

उनका पूर्ववर्ती कन्स्टान्टीन चेर्नेन्को एक वर्षअघि ७३ वर्षको उमेरमा बितेका थिए।

अन्तर्राष्ट्रिय मञ्चमा गोर्बाचोफले अमेरिकासँग अस्त्र नियन्त्रणका सहमतिहरू गरेका थिए भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध ओर्लिँदा उनले हस्तक्षेप गर्न अस्वीकार गरेका थिए।

पश्चिमा जगत्‌मा उनलाई सुधारका प्रणेता मानिन्छ जसले सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने आधार निर्माण गर्‍यो।

सन् १९९० मा उनलाई पूर्व-पश्चिम सम्बन्धमा ठूलो परिवर्तन ल्याउन भूमिका निर्वाह गरेकोमा नोबेल शान्ति पुरस्कार दिइएको थियो।

राजनीतिमा छेउ लागे

तर सन् १९९१ पछि उदाएको नयाँ रुसमा भने उनी राजनीतिको किनारामा पुगे।

त्यसपछि उनको ध्यान शिक्षा तथा मानवीय कार्यहरूमा गयो।

सन् १९९६ मा उनले एक पटक फेरि राजनीतिक जीवनमा फर्किने विफल प्रयास गरेका थिए। त्यतिखेरको राष्ट्रपति निर्वाचनमा उनले केवल ०.५% मत मात्र प्राप्त गरे।

अमेरिकाका प्रतिष्ठित कूटनीतिज्ञ हेनरी किसिन्जरले बीबीसीको न्यूजनाइट कार्यक्रमसँग बोल्दै गोर्बाचोफलाई “मानवजाति र रुसी जनताको फाइदा हुनेगरी भएका ऐतिहासिक परिवर्तन सुरु गरेको व्यक्ति”को रूपमा इतिहासले स्मरण गर्ने बताए।

अरू नेताले यसरी सम्झिए

गोर्बाचोफको निधनप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना व्यक्त गरेको क्रेम्लिनका प्रवक्ताले जनाएका छन्।

सोभियत सङ्घ विघटनताका अमेरिकी विदेशमन्त्रीको पदमा रहेका जेम्स बेकरले गोर्बाचोफलाई इतिहासले आफ्नो देशलाई प्रजातन्त्रतर्फ डोर्‍याएका महान् नेताको रूपमा स्मरण गर्ने बताएका छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले गोर्बाचोफलाई युरोपेली शान्तिप्रति प्रतिबद्ध व्यक्ति भन्दै उनका कार्यले युरोपको साझा इतिहासनै मोडिएको बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरजले गोर्बाचोफलाई विरल कोटिका राजनेता अनि सधैँ शान्तिको वकालत गर्ने व्यक्तिको सङ्ज्ञा दिएका छन्।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले गोर्बाचोफको साहस र इमानको आफू प्रशंसक भएको बताए।

“अहिले युक्रेनमा पुटिनको अतिक्रमणको समयमा गोर्बाचोफले सोभियत समाजलाई खुला गर्न देखाएको दह्रो कटिबद्धता हामी सबैका निम्ति उदाहरणीय छ,” जोन्सनले भने।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";