नेपाल प्रहरी फेरि जुर्मुरायोः गोली ठोकेर अभियुक्त नियन्त्रणमा लिन थाल्यो, ९० दिनको विवरण

२०८०, २७ मंसिर बुधबार

काठमाडौं– बीचका केही बर्ष गोली नचलाई नै अपराध नियन्त्रणमा सक्रिय रहेको नेपाल प्रहरी आक्रामक बन्न थालेको छ। विभिन्न अपराधमा संलग्नलाई नियन्त्रणमा लिन उसले गोली चलाउन थालेको छ।

देशका विभिन्न ठाउँमा अभियुक्त नियन्त्रणमा लिने क्रममा प्रहरी गोली चलाउन बाध्य भएको थियो। ९० दिनमा मात्र ५ जना अभियुक्त गोली प्रहार गरेर नै नियन्त्रणमा लिएको विवरण फेला परेको छ।

मंगलबार लागुऔषध कारोबारी नाइके अविनाश राईलाई गोली चलाएर उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लियो। एमफेटामाइन (आइस ड्रग) कारोबारका नाइके राईलाई झम्सिखेलमा गोली हानेको हो । पक्राउ गर्न खोज्ने क्रममा पेस्तोल निकाली प्रहरीलाई नै ताकेपछि गोली हान्नुपरेको प्रहरीले जनाएको छ।

राईको साथबाट दुई राउन्ड गोलीसहितको कटुवा पेस्तोल र चार सय ८५ ग्राम एमफेटामाइन बरामद भएको थियो।

१५ कात्तिकमा लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिक मोहमद करिमलाई गोली हानी नियन्त्रणमा लिएको थियो। काठमाडौंको गोठाटारमा लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई गोली हानेको थियो।

२५ असोजमा अपराध अनुसन्धान कार्यालयले नै काठमाडौंको जगडोलमा सिन्धुलीका अमर घलानमाथि गोली हानेको थियो। उनीमाथि लुटपाटको आरोप थियो। घलानको समूहसँग पनि प्रहरीले पेस्तोल भेट्टायो।

१ मंसिरमा बाँकेमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्तलाई नियन्त्रणमा लिन गोली हानेको थियो। पक्राउ गर्ने क्रममा भाग्न खोजेको भन्दै कोहलपुर–११ का आकाशजंग रानालाई प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो।

२० कात्तिकमा महोत्तरी प्रहरीले डकैती मुद्दाका दुई अभियुक्तमाथि गोली हानेको थियो। पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, जलेश्वर लैजाने क्रममा भाग्न खोजेपछि शक्ति पासवान र अजय पासवानलाई प्रहरीले गोली हानेको हो।

यसअघि अपराध नियन्त्रणमा लिन, गुन्डागर्दीलाई अन्डरग्राउन्ड गर्न प्रहरीले इन्काउन्टर गर्दथ्यो। ‘प्रहरीमाथि जाई लागेपछि नियन्त्रणमा लिन खुट्टामा गोली चलाउन पाइन्छ’, एक उच्च अधिकारी भन्छन्,‘नत्र प्रहरीले पेस्तोल सजाउनका लागि बोक्ने होइन। त्यस्तै बेलाका लागि दिइएको हो।’

यसअघि प्रहरीका कतिपय इन्काउन्टरमाचाहिँ मानव अधिकारको विषय उठेर विवाद हुन थालेपछि बीचका समयमा गोली चलाइएको थिएन। तर, प्रहरीले अपराध नियन्त्रणमा रणनीति बदलेको उच्च अधिकारीहरु बताउँछन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";