पीडित पुष्पकमल, ‘पापी’ प्रचण्ड

२०८०, ३ पुष मंगलवार
  • विनोद ढकाल

यो आलेख पढेपछि माओवादीको एउटा प्युसोले कुनै न कुनै हिसाबमा प्रतिक्रिया दिनेछ। रौतहट प्रकरणमा उसले के–के गरेको छ, सिधा सिधा लेखिनेछ। अहिले उसलाई छाडौं, शीर्षकमा उसको भगवानको कुरा छ। जसको भगवानको बारेमा नै लेखिरहेको छु कति जोखिम छन् भन्ने हेक्का छ, मलाई। तर जोखिमसँग डराएको भए पत्रकारिता जीवन र जीवन पत्रकारिता हुने थिएन। अवसरवादीहरू आफैं स्खलित हुनेछन्, समयमा। एउटा सत्य कोर्छु– उसको उदय नै प्रकाश दाहालको निधनपछि भएको हो।

यस्ता अनेक पात्र छन् जसलाई प्रकाश ब्रदरले मन पराउँदैन थिए। अवसरवादी किनारामा थिए। उसले गरेको गल्ती केही थिएन तर गल्ती बनाइयो, उसले सच्याइरहेको थियो। फलतः उसले समयमा नै यो संसारबाट बेनाम हुन परेको थियो। यो सत्यकाबीच अनेक मिथक चर्चा छन्। त्यो नगरौं, अब पुष्पकमल दाहाल र प्रचण्डका कुरा हुनेछन्।

बाल जोशीले सेतोपाटीमा ‘पीडित प्रचण्ड’ शीर्षक दिएर एउटा आलेख लेखेका थिए। तर, उनले त्यहाँ लेख्न चुकेको शव्दचाहिँ प्रचण्ड हो। त्यो पीडित पुष्पकमल हो।

जोशीले लेखेको विषयसँग असहमत छैन, उनले लेखेका थिए–

एक पिता वा पतिको रूपमा प्रचण्डको जीवन दुखदायी छ।

सत्ता, शक्ति र शामर्थले भरिभराउ प्रचण्डको जीवनमा व्यक्तिगत शान्तिले ठाउँ पाएन। दुनियाँ जितेको देखिने प्रचण्ड व्यक्तिगतरुपमा एक पराजित पुरुष हुन्। प्रचण्ड अभागी पिता हुन्– मनको अशान्ति र वेदनाले भरिएका एक दयाका पात्र जसले पुत्रको चिता जलायो।

तर, ‘आई फर एन आई’ सिद्धान्तले अभिप्रेरित हामी केहीलाई सायद मानवीय समवेदनाले छुँदैन। प्रतिशोधको ज्वालामा रन्किएका हामी केहीलाई सायद अरूको पिडा भन्दा पनि आफ्नो पिडा महत्वपूर्ण लाग्छ। अर्काको पिडा थोरै पनि आफूले महसुस गरे सायद दुनियाँको झगडा एक मिनेटमा सकिन्थ्यो होला।

तिमीलाई दुख्ने घाउ मलाई थोरै मात्र महसुस हुने भए सायद म तिमीलाई कहिल्यै दुख दिने थिएन। अर्काको पिडामा मल्हम लगाउन नसके पनि बुझ्न मात्र सके दुनियाँको शान्ति अत्यन्त सहज थियो।

मानवलाई पशुत्वबाट जोगाउने एक मात्र तत्त्व यही भावना हैन र? तर, पशुत्वले छोएका हामी मानव त कम्जोरलाई नै प्रहार गर्छौ।

सामाजिक सञ्जालमा आफ्नो मनको पिडा ओकेलेर आखिर के नै पाइन्छ र? क्षणभरको मन शान्ति बाहेक। सत्य परिवर्तन हुँदैन हाम्रा दुई–चार अशिष्ट ब्याबहारले। पर्दा पछाडि बसेर धारे हात लाउन जति सजिलो छ त्यति नै असजिलो छ ‘फिल्ड’ मा गएर सुधारमुखी काम गर्न। यथार्थ बदल्न इतिहास लेख्नु पर्छ। सामाजिक सञ्जालमा लेखिने ’क्षण–भंगुर’ दुई– चार लाइनले विचार होइन, हाम्रो मनोदशा देखाऊँछ।

जोशीजीले लेखेको कुरामा सहमत छु। अझ जोड्छु।

आफू ज्युँदो हुँदा जेठी छोरी, एउटा मात्र छोरो र पत्नी गुमाउने पुष्पकमलको अनुहार जति हेर्यो त्यति पीडित देख्छु म। मन कोमल छ, उनका रसाएका आँखा देखिएको छ। भावुक छन्। लाचार छन्। विचरा छन्। गर्न खोज्छन् तर परिवार प्रेमले प्रताडित छन्। यी जत्तिको अभागी बाबु को होला र? जस्तो लाग्छ।

जोशी जी त्यो प्रचण्ड होइन, पीडित त पुष्पकमल दाहाल हो।

प्रचण्ड त पापी हुन्। प्रताडना र अमानवीयताका प्रतीक हुन्। हुन्, अपराधका नाइके, घाइते र पीडित परिवारलाई बेवास्ता गर्ने एउटा क्रुर शासक।

शास्त्रमा नै धर्म र पापका विषयमा वर्णन गरिको पाइन्छ। १८ पुराण रचना गरेका बेदव्यासले समेत सारमा दुई कुराको मात्र निचोड निकालेका छन्। परोपकार गरे पुण्य कमाइन्छ, पाप गरेका पीडा भोग्नुपर्छ।

यस्तै शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ। जसमा भगवान शिवले कहिल्यै क्षमा गर्न नसक्ने बताइएको छ। यस्ता व्यक्ति सधैँ शिवको क्रोधको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ।

०६४ सालपछि हरेक समय सत्तामा रहेका प्रचण्डले युद्धमा ज्यान आहुति गर्ने परिवार र सहिदका निम्ति केही पनि गरेनन्, माखो पनि मारेका छैनन् यसकारण प्रचण्ड पापी हुन्।

यीनी १२ पापका भागीदार मात्र होइन, १७ हजारको आहुति हुँदा योगदान गर्न नसक्ने, सत्ताको वरिपरि भ्रष्टतन्त्रमा लुटपुटिएका दक्ष प्रजापति हुन्। यीनले आवेग एक अनुहार र जीवन अर्को अनुहारमा बाँच्ने शैली अपनाए।

प्रचण्ड सत्तामा आउनुपूर्व एउटा आवेग र क्रान्तिनायक थिए। माओवादी भनेको चिल अरु भनेको चल्ला, माओवादी कम्युनिस्टको हिङ, एमाले भनेको हिङ बाँधेको टालो भन्थे। कति मिठास थियो त्यो भाषणमा साँच्चै क्रान्ति उठ्यो भन्ने लागेको थियो। आज माओवादीको हविगत हेर्नु त, प्रचण्डमाथि लागेका आरोपको बचाऊमा चाकरी गरिरहेका छन्, नेता भनाउँदा।

के थियो माओवादी, के भयो? कहाँ पुग्यो? अवसरवादी र भ्रष्टतन्त्रको नमूनाका रुपमा स्थापित गराउने को हो? यो पापको भाग कसले बोक्ने? प्रचण्डले होइन?

क्रान्तिका नाममा दुनियाँका सन्तानलाई ज्यानको बाजी लगाउन बाध्य पार्ने प्रचण्ड कदाचित पुष्पकमल होइन। पुष्पकमल त एउटा पीडित बाऊ हुन्। प्रचण्ड जो शान्ति सम्झौतामा हस्ताक्षर गर्छन्, उनीचाहिँ १६ बर्षसम्म सत्यनिरुपण पनि गर्न नसक्नेलाई के उपमा दिने?

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";