सरकारी जग्गा कब्जा गरी माओवादी केन्द्रको कार्यालय, हात्तिमाराको ४० बिग्गाह कसले लुट्यो?

२०७९, ११ आश्विन मंगलवार

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिकामा पर्ने अमरावती (हात्तिमारा) नदी बग्ने ४६ बिग्गाह सरकारी जग्गा नेकपा माओवादी केन्द्र, अन्य विभिन्न राजनीतिक दलका नेता र सरकारी कर्मचारीको मिलोमतोमा व्यक्तिका नाममा सारिएको छ।

नदीलाई साधारण ढलमा परिणत गरी सरकारी जग्गा मालपोत कार्यालयका कतिपय अधिकारी, जिल्ला प्रशासन कार्यालयलगायत सरकारी अड्डाका अधिकारी, राजनीतिक दलका कतिपय नेता र तिनका सन्तानले कब्जा गरी बेचेको खुलेको हो।

नदीको ४० बिग्गाह भन्दा बढी जमिन त्यसरी वैधानिक लुट गरिएको छ। स्थानीयका अनुसार अहिले उक्त नदीको जग्गामा नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय नै खडा गरिएको छ भने कतिपय जमिन व्यक्तिका नाममा सारिएको छ।

हात्तिमाराको जग्गा खोज्दै सर्वसाधारणले मंगलबार त्रियुगा नगरपालिकामा धर्ना समेत दिएका थिए। उक्त नदीको जग्गा कायम गरी सार्वजनिक सम्पत्तिका रुपमा राख्न जिल्ला अदालतले आदेश दिएको थियो।

उक्त आदेश कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत भएको पाइएको छ। प्रशासनले जग्गाको स्वामित्व कायम गर्नका लागि नगरपालिकाको कार्यालय र नगरपालिकाले वडा कार्यालयलाई पत्राचार गरे पनि जग्गाको खोजीनीति हुन सकेको छैन।

उक्त जग्गाको खोजी गरी सार्वजनिक सम्पत्ति कायम गर्दै नदीको धारलाई सोही क्षेत्रमा बगाउनुपर्ने धर्नाकर्ताको माग छ। धर्नाकर्ताहरूले ‘हात्तिमारा खोई?’ भन्नेलगायतका प्लेकार्डसहित नगरपालिका कार्यालय घेराउ गरेका थिए।

०७२ सालपछि उक्त जग्गा बेचिन थालेको आन्दोलनकारीले बताएका छन्। एक स्थानीय भन्छन्,‘सरकारी कर्मचारी, केही नेता मिलेर ०७२ सालपछि नदी नै खाइसकेका छन्। यसको खोजी हुनुपर्छ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";