रास्वपामा नयाँ सभापति कति सम्भावना? अन्य पदाधिकारी दोहोरिने सम्भावना शून्य

२०८०, ११ असार सोमबार

आगामी मंसिरमा महाधिवेशनमा जान लागेको रास्वपाले सभापतिमा रवि लामिछानेलाई निरन्तरता दिनेछ या नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिनेछ?

काठमाडौं– आगामी मंसिरमा पहिलो महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ नेतृत्वको परिकल्पना गर्न सक्ने विषयमा संश्लेषण सुरु भएका छन्।

संस्थापक सभापति रवि लामिछानेविरुद्ध आन्तरिक चुनावी मैदानमा अन्य व्यक्ति उत्रिन सक्ने सम्भावनाबारे चर्चा चले पनि कतिपयले पदाधिकारी मात्र फेरिन सक्ने पनि बताएका छन्।

पहिलो बार्षिक उत्सवका क्रममा पूर्वबैंकर अनिल केशरी शाहलाई भित्राएको रास्वपाले उपनिर्वाचनअघि स्वर्णिम वाग्लेलाई केन्द्रीय तहमा ल्याएको थियो। ‘विस्तारै व्यक्तित्व जोडीरहेको उसले पहिलो महाधिवेशनमा सभापतिमा लामिछानेलाई निरन्तरता दिन सक्ने देखिए पनि अहिले रहेका पदाधिकारीमा भने परिवर्तन हुन सक्छ’, रास्वपाका एक केन्द्रीय सदस्यले भने,‘यसको आकार पनि केही परिवर्तन हुन सक्छ।’

शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। जसले पार्टीको केन्द्रीयदेखि तल्ला तहसम्ममा प्रशिक्षण दिनेछन्। यसले शाहको प्रभाव बढ्ने सम्भावना रहेको छ। यसैगरी उपनिर्वाचनमा जित निकालेका वाग्लेले अहिले पनि प्रभाव बढाइसकेका छन्।

अहिले उपसभापति रहेका डीपी अर्याल, महामन्त्री मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटीलगायतले महाधिवेशनमा पदाधिकारी गुमाउन सक्ने सम्भावना रहेको छ। बरु, केन्द्रीय समिति र पदाधिकारीमा नरहेका तर प्रतिनिधि सभामा जित निकाले सांसदले महाधिवेशनको उपयोग गर्न सक्ने अनुमान पनि गरिएको छ।

‘अहिलेको पदाधिकारीको संरचना हेर्दा रवि लामिछाने मात्र हावी हुने प्रकारको रहेको छ। तर, पार्टी बन्नका लागि विचार, सिद्धान्तमा बहस र मन्थन हुनेगरी अघि बढ्छ। यसमा शाह, वाग्ले जस्ता व्यक्तिको हस्तक्षेप हुन सक्छ’, उच्च स्रोतले भन्यो,‘अन्य नामी व्यक्ति जोडिए तिनिहरूले पनि हस्तक्षेप गर्न सक्ने सम्भावना बलियो छ।’

रास्वपाले ०८४ को निर्वाचनमा आफूलाई निर्विकल्प शक्ति बनाउने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा समाजको तल्लो तहसम्म लामो समय जरा गाडेको कांग्रेस र एमालेको भूमिकाले पनि उसको महाधिवेशनमा असर गर्न सक्ने बताइन्छ।

‘कतिपय नेता त पुराना दलले रणनीतिक हिसाबमा नै रास्वपामा छिराउन सक्छन्। धेरै नयाँ शक्ति बनेको र टुटेका दृष्टान्तले त्यहि नै स्पष्ट पार्दै आएको छ’, उच्च स्रोतले भन्यो,‘वैकल्पिक राजनीति भनेर आएको विवेकशील साझा होस् वा चुनावमा अनुमोदन भएर आएको तत्कालिन माओवादी केन्द्रदेखि मधेसी जनाधिकार फोरमसम्मको स्थितिले यहि प्रमाणित गरेको छ।’

सभापति लामिछानेले रास्वपालाई कुन कसीमा सम्हाल्न सक्नेछन् त्यसलाईचाहिँ धेरैले नियाँलिरहेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";