१७ बर्षयता प्रचण्डको वरिपरि घुमिरहेको छ सत्ता राजनीतिः ‘लभ हेट लभ हेट’

२०८०, १६ असार शनिबार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक म्याराथन थालेको तीन दशक कटे पनि केन्द्रीय सत्तामा भने १७ बर्षदेखि प्रत्यक्ष प्रभाव राख्दै आएका छन्।

ज्यादातर समय सत्तामा रहेको यो अवधिमा प्रतिपक्षमा भने दुई पटक मात्र बसेका थिए। गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पद खुस्किएपछि २२ महिना र संविधान जारी गर्ने बेला कांग्रेस–एमाले सरकार रहेका बेला ०७० बाहेक प्रचण्ड खासै प्रतिपक्षमा बस्न परेको छैन।

तेस्रो पटक प्रधानमन्त्री पदको जिम्मेवारीमा दौडिरहेका उनले कयनलाई त्यहि कुर्सीमा बसाले र ओराले। एक अर्थमा सबै दलसँग उनको ‘लभ हेट, लभ हेट’को सत्ता–राजनीतिक सम्बन्ध रहँदै आएको छ।

पछिल्लो पटक बिनियोजन विधेयक फेल गराउँदै प्रधानमन्त्री पदबाट प्रचण्ड पदच्युत पार्ने प्रयत्न नाटकीय ढङ्गले असफल भयो।

बहुचर्चित ललिता निवासको सरकार जग्गा किर्ते प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा खुला अनुसन्धान गर्नका लागि तत्पर रहेका प्रचण्डका लागि सत्ता साझेदारका कारण नै आफू असफल हुने त्रासदी थियो। विपक्षी मोर्चा त यसै पनि प्रचण्डको प्रधानमन्त्री पद जाने दिन ठोकुवा गरेरै बसेका छन्।

यद्यपि उनी यहि कार्यकालमा केही स्मरणीय र यादगार छाप छाड्ने मुडमा छन्। यसैले केही समयमा भ्रष्टाचारविरुद्धको यो धावनमार्गमा ओम्नी प्रकरणबारे छानबिन सुरु हुनेछ। यसबीचमा पप्पु कन्स्ट्रक्शनका मालिक हुन् या अख्तियारका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउने अदालतको आदेश प्रचण्डले यसमा क्रेडिट लिने अवसर पाएका छन्।

प्रचण्डका राजनीतिक र पारिवारिक दुवै पाटोमा संघर्ष र संवेदनाको ठूलो हिस्सा छ। राजनीतिमा उनी कति सफल कति असफल भन्ने भविष्यले निर्धारण गर्ला तर एक हदसम्म मुद्दाका हिसाबमा उनले देशमा गणतन्त्रको नेतृत्व गरे। पारिवारिक रुपमा त उनी अत्यन्तै पीडित छन्। पत्नी सीताको स्वास्थ्य अवस्थादेखि परिवारका अन्य सदस्यका निजी कहानी कहालिलाग्दो छ।

प्रचण्डले राजनीतिमा कहिल्यै पनि इमानदारीताका साथ सहयोग पाएनन्। औंलामा गन्ने नै हो भने पनि प्रचण्डले ५ जनालाई राजनीतिक सहयोगका आधारमा प्रधानमन्त्री पदसम्म पुग्ने वातावरण बनाए। चार जनालाई त हाकाहाकी प्रधानमन्त्री बनाए तर तिनीहरूबाट राजनीतिक धोका नै पाए।

०६४ को संविधानसभा निर्वाचनमा रौतहट र काठमाडौं दुई निर्वाचन क्षेत्रमा सर्मनाक हार व्यहोरेका माधवकुमार नेपाललाई संवैधानिक समितिको सभापति बनाउनका लागि मन्त्रिपरिषदबाट नै निर्णय गर्दा प्रचण्ड गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री थिए। तर त्यसबेला प्रधानसेनापति रहेका रुक्माङ्गत कटवाललाई हटाउने निर्णयले उनलाई सत्ताबाट ओर्लिन बाध्य बनायो। एमाले नेता रहेका माधव नेपालको सहयोग पाएको भए उनको सरकार टिक्न सक्थ्यो तर राजनीतिमा त्यस्तो इमान कहाँ रहन्छ र? प्रधानमन्त्री पदका निम्ति तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको आशिर्वाद थापी माधव नेपाल आफैं कुर्सीमा उक्लिए। त्यसविरुद्ध आन्दोलन गरेको माओवादीलाई माधव नेपालले सत्ता शक्तिको प्रयोग गरी घेराबन्दीमा पारेका थिए।

व्यवस्थापिका संसदमा लामो समयसम्म माधव नेपालको राजीनामा माग भयो। नेपालको राजीनामासँगै मुलुकमा फेरि नयाँ प्रधानमन्त्रीको खोजी भयो। सोही बखत हालका राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेस संसदीय दलको नेताको हैसियतमा १७ पटकसम्म प्रधानमन्त्री पदका प्रत्यासी भए। तर, कम्युनिस्ट ध्रुवीकरणको रेखाङ्कन गरिरहेका प्रचण्डले नेकपा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री पदमा निर्वाचित गराए।

माधवकुमार नेपालको अहिलेको राजनीतिक साख पनि प्रचण्डले जोगाइदिएका हुन्। जब नेकपा एमालेले १४ जना सांसदलाई कारबाहीको पत्र सदन सचिवालयमा दर्ता गरायो माओवादी नेता अग्नी सापकोटामार्फत रोकेर दल विभाजनको अध्यादेशमार्फत नेता नेपालको राजनीतिक धरातल प्रचण्डले कोरिदिए। त्यति मात्र होइन, निर्वाचनमा गठबन्धन गरी १० सिट जित्ने वातावरण तयार पार्न पनि प्रचण्डको हात छ।

प्रचण्ड फरक दलका नेताबाट मात्र होइन, आफ्नाबाट पनि घेराबन्दीको पीडित मात्र बनेनन् कालान्तरमा तिनले माओवादी आन्दोलनलाई त्याग गरे, धोका दिए। तर, उनले उपकार गर्न भने छाडेनन्।

तत्कालिन एमाओवादीका उपाध्यक्षत्रय मोहन बैद्य किरण, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा बादलले प्रचण्ड एक्ल्याउने भेला गर्न थाले। यहिक्रममा उनले भट्टराईलाई प्रधानमन्त्री निर्वाचित गराएर माओवादी विभाजन रोक्ने प्रयास गरेका थिए तर अन्ततः मोहन वैद्य किरणहरू भने अलग हुनबाट रोकिएनन्।

उपकारका हिसाबमा नै त प्रचण्डले विभाजन भई अन्य गएका बादललाई माओवादी केन्द्र बनाएर फर्काएनन् मात्र गृहमन्त्री समेत बनाए। भट्टराईको राजनीतिक साख जोगाउनका लागि माओवादीको चुनाव चिन्ह समेत दिए। त्यसअघि दोस्रो संविधानसभामा संवैधानिक समितिको सभापति पनि बनाएका थिए। ‘एउटा नेताले कतिसम्म अरुलाई मौका दिन सक्छ? पार्टीमा अनेक इमान्दार हुँदाहुँदै पनि आन्दोलन जोगाउन पटक पटक अवसर दिए’, प्रचण्डनिकट एक नेता भन्छन्,‘तर कसले साथ दियो? बादल एमालेतिर लागे, मन्त्री भएका टोपबहादुर रायमाझीदेखि लेखराज भट्टसम्मले साथ छाडे।’

माओवादीलाई बर्गशत्रु नै ठानेर हिँडेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त दुई–दुई पटक प्रधानमन्त्री बनाउनका लागि प्रचण्डको भूमिका प्राथमिक थियो। संविधान बनेपछि सत्ता छाड्न ऐंठन गरिरहेको कांग्रेसविरुद्ध ओलीका पक्षमा प्रचण्ड उभिएका कारण एमालेले सरकारको नेतृत्व पायो। तर, समझदारीमा इमान्दार नहुँदा त्यहि सदनमा प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री बनाएको इमान्दार सर्तमा सभापति शेरबहादुर देउवाका लागि नौ महिनामा सरकार छाडिदिए। यसरी हेर्दा शेरबहादुरलाई प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका प्रभावकारी रह्यो।

विशाल कम्युनिस्ट पार्टीको परिकल्पना गरी एमाले–माओवादी केन्द्र गठबन्धन गरी चुनावी मैदानमा होमिएका प्रचण्डले पार्टी एकीकरण गरी ओलीलाई फेरि प्रधानमन्त्री बनाए। तर, ओलीले उनलाई इमानका साथ पार्टीमा र सरकारमा समान हैसियत र व्यवाहार नगर्दा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी दुखान्तमा पर्यो। नेकपा विभाजन भयो। नेकपा विभाजनको स्थिति तत्कालिन प्रतिनिधि सभा विघटनको निर्णय रहेको थियो र त्यसलाई जोगाउनका लागि ६३ सिटमा खुम्चिएको कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेरि प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका स्मरणीय छ।

अर्को चुनावमा सत्ता गठबन्धन एक भएर चुनावी मैदानमा जाने सहमति बन्दा प्रचण्ड पहिलो कार्यकालको प्रधानमन्त्री स्वीकार्य भयो। तर, जब गठबन्धन बहुमतमा देखियो, पहिलो कार्यकालका लागि कांग्रेस सभापति देउवाले फेरि उनलाई धोका दिए। फलतः उनी एमालेलाई सभामुख दिन तयार भएर प्रधानमन्त्रीमा निर्वाचित भए। तर राष्ट्रपति पदमा पौडेललाई निर्वाचित गराउने बचन दिएका प्रचण्डले सन्तुलित बनाउनका लागि साझा सहमतिको प्रस्ताव गरे। एमालेले नमान्दा उनी पुरानो गठबन्धनतिर फर्किएको तथ्य नजिक छ। तैपनि उनले सुखद रुपमा सरकार चलाउन पाएका छैनन्, अप्ठ्यारा चिर्दै केलाउँदै अगाडि बढिरहेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";