खुमलटारमा सीता दाहालले सोध्नुभयो– को हो यो?

२०८०, २७ असार बुधबार
  • विनोद ढकाल

ति मृतकहरू कहिल्यै मृत हुँदैनन्, जबसम्म हामीले बिर्सनेछैनौं। बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनको खबरले स्तब्ध बनायो। स्तब्धतासँगै उहाँसँगको पहिलो र दोस्रो साक्षात्कारलाई स्मृतिमा ल्यायो। पहिलो भेट लाजिम्पाटस्थित तत्कालिन निवासमा परिचित मुद्रामा भएको थियो। उहाँसँग केही संवाद भए तर लामो हुन नसक्नुको कारण थियो– प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको दोस्रो कार्यकाल। मानिसहरूको लर्को थियो, मिठाई ल्याउनेको भिड थियो। आँगनको टेबुलमा राखिएको मिठाई दिँदै सीता दाहालले भन्नुभयो– मुख मिठो बनाऊ।

त्यसबखत मित्र प्रकाश दाहालको निम्तोमा पुगेको थिएँ। साथमा मित्र मदन चुडाल, राजनीतिमा चासो राख्ने दाजु किरण मगर (किरण स्वामी)लगायत थियौं। त्यसपछि भने सीता दाहाल (सीता आमा)सित खासै भेट भएन। मित्र प्रकाश दाहालको निधनले स्तब्ध बनाएपछि त उहाँसँग दोहोरो संवादको लय नै टुटेको थियो। तैपनि स्वास्थ्यका विषयमा खोजीनीति र सोधी त भई नै रहन्थ्यो अनेक माध्यममा। समाचारहरूमा आइरहेका, आफैंले लेखिरहेको क्रान्तिनायिकाको स्वास्थ्यका विषय नै उदेक लाग्दो थियो।

त्यसपछि तीन पटक जति विभिन्न सन्दर्भमा खुमलटार पुगेपछि सीता दाहालसँग एउटा साक्षात्कार हुने मौका जुरेको थियो। उहाँले मलाई चिन्ने आधार नै नरहेको र उहाँ आफैं पनि चिन्न सक्नेभन्दा पनि अलग अवस्थामा रहेका कारण मतिर इङ्गीत गरी डोहोराइरहेकी छोरी गंगा दाहाललाई भन्नुभयो– को हो यो?

उहाँले नचिन्नुसँगको सरोकार थिएन, उहाँको स्वास्थ्यमा देखिएको जटिलता, सीता दाहालमा देखिएको संवेदनाकृत जटिल स्वास्थ्य समस्याको समाधान कहिले होला भन्ने प्रश्न खड्किरहेको थियो। यो प्रश्नपनि आर्यघाटतिर लागेको छ, उहाँको स्वास्थ्य सुधार नभई नै प्रस्थानको खबर कानमा परेपछि।

केही होइन, धेरै योगदान छन् सीता दाहालका। ति देखिएनन् होला तर बिम्बित भएर आजको राजनीतिक अवस्थासम्म त आएकै हुन्। उनका योगदानका बिम्ब नै त हुन् परिवर्तनका लयसँगै उदाएका आवाजहरू। यसमा सहमति र बिमति हुन सक्लान् तर फरक कोर्षमा पुगेको मुलुकका निम्ति सीता दाहालको योगदानको कदरलाई अनादर गर्न मिल्दैन।

राजनीति कुन बाटोमा गयो भन्ने विषयका तर्कवितर्क अलग होलान्। तर, सीता दाहाल जो नेपथ्यमा रहेर एउटा अलग क्रान्तिलाई सफल बनाउन प्रचण्डका लागि दौडिरहनुभयो, त्यसलाई नजरअन्दाज गर्न मिल्दैन। स्थिति र परिस्थितिका कारण राजनीतिक विचारधारासँग असहमत हुन सकिएला, आलोचना पनि हुन सक्ला तर योगदानको कदरले त्यो निधनलाई महाप्रस्थान बनाउन सक्छ। माओवादी आन्दोलन या युद्धको छायाँको पाटोमा रहेर सीता दाहालले गर्नुभएको योगदान बर्णनतुल्य छ, हुनेछ र रहिरहने कुरामा दुईमत छैन।

भनिन्छ, मृत्युले जीवन समाप्त पार्छ, सम्बन्ध हैन। सीता दाहालको निधनले उहाँको जीवन समाप्त बनायो, पक्कै पनि। तर, देशमा आएको नयाँ युगमा उहाँको योगदानसँगको सम्बन्ध, युद्धकालमा माओवादी आन्दोलनका नेतृत्वकर्तालाई ढाडस दिने सम्बन्ध, कयन अधिकारहिन नागरिकले लडेको अधिकारको आन्दोलनप्रतिको सम्बन्ध र ति तमाम मृतकहरूको परिवारको आँसुमा खसेका, खसाईका आँसुसँगको सम्बन्ध समाप्त गरेको छैन।

यसकारण लामो समय स्वास्थ्यको जटिल समस्यासँग जुधिरहेकी एउटी आमाको महाप्रस्थान भएको छ, हार्दिक श्रद्धा सुमन! प्रधानमन्त्री प्रचण्ड र परिवारमा धैर्यधारण गर्न सक्ने क्षमता भगवानले प्रदान गरुन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";