छानबिन समिति ६९ किलोको नालीबेली खोज्दैछ, अर्को २२ किलो तस्करीको सुन भेटिईसक्यो

२०८०, २५ मंसिर सोमबार

काठमाडौं– अवैध सुन तस्करी र पैठारीबारे उच्चस्तरीय जाँचबुझ आयोगले अनुसन्धान जारी राखेका बेला नै २० किलो भन्दा बढी तस्करीको सुन त्रिभुवन विमानस्थलमा र बाहिर नियन्त्रणमा लिइसकिएको छ।

चार जना व्यक्ति यस क्रममा पक्राउ परेका छन्। यसले विमानस्थल सुन तस्करीका लागि सहज र सजिलो रहेको मात्र प्रमाणित गरेको छैन, ठूलो नेक्सस अझै पनि सहजीकरणमा सक्रिय रहेको आशंकको सुविधा दिएको छ।

१४ किलो सुन समातिएको विमानस्थलमा फेरि साढे ६ किलोसहित विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ। भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो।

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। भन्सार क्षेत्र कटेपछि उक्त सुन नियन्त्रणमा लिएर विदेशी नागरिकलाई पक्राउ गरिएको हो।

दुई सुडानी नागरिकहरुलाई पक्राउ गरिए पनि संलग्नता अस्वीकार गरिरहेका छन्। विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ।

हङकङमार्फत पनि तस्करीको सुन पार गराइएको थियो। सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए। यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए।

प्रारम्भिक जाँचका क्रममा बरामद सुन भारततर्फ नै लैजाने गरी ल्याएको हुनसक्ने देखिएको छ।

यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो। कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो।

नेपालमा राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरूले सरकारले निर्धारण गरेको कोटा अनुसारको परिमाणमा मात्रै सुन आयात गर्न पाउँछन्।

त्यसका लागि पनि दैनिक १० किलोग्रामको सीमा तोकिएको छ। अधिकारीहरूका अनुसार दुबईमा सुनको मूल्य प्रतितोला नेपालको भन्दा १७,००० रुपैयाँ सस्तो छ।

सुनको मूल्य उच्च भइरहँदा र छिमेकी देश भारतमा यसको माग धेरै भएका कारण अधिकारीहरूले नेपालमा तस्करी भएर आउने सुन खुला सिमाना भएको भारततर्फ लगिने बताउने गरेका छन्।

गत साउनमा मोटरसाइकलको उपकरणका नाममा हङ्कङबाट भित्र्याइएको ६० केजी सुन बरामद भएको थियो। त्यसअघि पनि भेपमा राखेर ल्याइएको ठूलो मात्रामा सुन बरामद भएको थियो।

बारम्बार ठूलो मात्रामा सुन बरामद भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ सुरु गरिएको विवरण आएका थिए। प्रहरीका अनुसार तस्करहरूले स्थलमार्ग हुँदै सुन भित्राउन सुरु गरेका छन्।

नागढुङ्गामा बरामद भएको दुई केजी सुन रसुवा नाकाबाट भित्र्याइएको आशङ्कामा अनुसन्धान भइरहेको विवरण आएका छन्।

गत असोजमा प्रहरीले दोलखास्थित चीनसँगको फलेक नाकाबाट भित्राइएको भनिएको ११ केजी सुन बरामद गरेको थियो। नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष नेपालभरिबाट जम्मा १० केजी अवैध सुन बरामद भएको थियो। त्यसमध्ये काठमाण्डूबाट छ केजी र लुम्बिनी प्रदेशबाट चार केजी बरामद भएको थियो।

यो वर्ष बरामद भएको सुन करिब १०० किलोग्राम पुगिसकेको बताइन्छ। यसरी नेपाल विस्तारै सुन तस्करीको ठूलो ट्रान्जिट र खकुलो सुरक्षा भएको क्षेत्रका रुपमा तस्करले लिन थालेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";