डरलाग्दी कविताः यता रकम  झ्वाम पारिन्, थाइल्यान्ड भनेर बर्मामा ‘साइबर दास’ बनाइन्

२०८०, २६ मंसिर मंगलवार

काठमाडौं– तस्बिरकी युवती हुन् गोरखा धार्चेकी कविता गुरुङ। उनको डरलाग्दो आपराधिक कथा प्रहरीको मानब बेचबिखन अनुसन्धान व्युरोले सार्वजनिक गरेको छ।

अमेरिकाको कम्पनीमा काम लगाउने र थाइल्यान्डमा बसेर गर्नुपर्ने भन्दै कतिपयलाई बर्मा (म्यान्मार) पुराएर बन्धक समेत बनाई उनले रकम असुल गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

म्यानमार पु¥याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न लगाएको आरोपमा २७ बर्षिया गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

गुरुङले दुई जनालाई थाइल्याण्डस्थित एक कम्पनीमा अङ्ग्रेजी टाइपिङको रोजगारीको प्रलोभन देखाएकी थिइन्। उनीहरूलाई त्यसरी टाइप गरे वापत मासिक एक हजार अमेरिकी डलर तलब पाउने आश्वासन देखाएकी थिइन्। त्यसपछि काठमाडौंमा रहेको आफ्नै घरमा बोलाएर टाइपिङ टेस्ट पनि लिइन्। प्रत्येक पीडितबाट दुई लाख ६० हजार रुपैयाँ लिएको अनुसन्धानमा खुलेको छ। त्यसपछि पीडितलाई झुक्याएर म्यानमारको म्यावाड्डीस्थित चिनीयाँ कम्पनीमा लगेको प्रहरीले पत्तो लगाएको हो।

उनीहरूलाई त्यस कम्पनीमा लगिसकेपछि बन्धक बनाएर दिनको १८ देखि २० घण्टासम्म विभिन्न व्यक्तिलाई अनलाइनमा ठग्ने काममा लगाइन्।

उनीहरूलाई विशेषगरी फेसबुक, हृाटसएप, ट्वीटरजस्ता सामाजिक सञ्जाल मार्फत अमेरिकी, युरोपेली नागरिकलाई के कसरी ट्रयापमा पारी अनलाइनमार्फत बिटक्वाइन लगायत भर्चुअल करेन्सीमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भन्ने बारेमा सात दिनको तालिम दिएको अनुसन्धानबाट खुलेको छ।

पीडित नेपालीलाई काममा लगाइसकेपछि उनीहरूले भनेको टार्गेट पूरा नगरे कुटपिट गर्ने, इलेक्ट्रिक सक (करेन्ट) लगाउने जस्ता शारीरिक, मानसिक यातना दिने गरेको पीडितले प्रहरीलाई बताएका थिए।

कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरा समेत जडान गरी कम्पनीभन्दा बाहिर आफूखुसी जान नपाउने गरी कम्पनीभित्रै साइबर दास बनाएर राखिएको थियो।

पीडितहरूले आफू जसरी पनि नेपाल फर्कन्छु भन्दा उनीहरूबाट आठ लाख रुपैयाँ तिर्न बाध्य पारेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";