सडक विभागका सुई ‘हनिट्रयाप’ पीडित! यस्तो छ भिडिओ प्रमाण

२०८०, ११ श्रावण बिहीबार

काठमाडौं– रामेछाप स्थायी घर भएकी एक युवतीले सडक विभागका सुपरिडेन्ट इन्जिनियर (सुई) हरिकुमार पोखरेललाई घरेलु कामदार बनेर ‘हनि ट्रयाप’मा पारेको तथ्य सतहमा आएको छ।

ति युवती घरेलु कामदारका रुपमा ११ बजेदेखि १ बजेसम्म काम गर्ने सर्तअनुसार पोखरेलको घरमा रोजगारीमा थिइन्।

दुई घन्टा काम गर्ने सर्तअनुसार सिनामङ्गलस्थित घरमा जानुपर्ने ति युवती पोखरेल घर आउने बेला मात्र पुग्ने गरेकी थिइन्। काम गर्ने क्रममा जबरजस्ती आफैं पोखरेलसँग टाँसिने र भिडिओ रेकर्ड गर्दै आएकी उनले लाखौंको रकम बार्गेनिङ गरेको पनि खुलेको छ।

ट्रयापमा परेका पोखरेलले इज्जतको डरले केही रकम दिन तयार हुँदा घर नै पास गर्नुपर्ने सर्त राखेपछि भने यो घटनालाई सार्वजनिक नगरी नहुने ठाने।

‘गरिब भएको र घरमा काम गर्नका लागि आग्रह गर्दा नाई भन्न सकिएन। तर, उनको हर्कत विस्तारै अलग देखियो’, पीडित पोखरेल भन्छन्,‘आफैं समात्ने, नजिकिने गर्दा असहज भएको थियो, त्यसलाई रेकर्ड गरेको रहेछ पछि काम छाडेर बार्गेनिङ सुरु गरिन्।’

ति युवतीले सामान्य रकम होइन, घर नै पास गरिदिनुपर्ने सर्त राखेपछि भनेचाहिँ छाँगाबाट खसे पोखरेल परिवार। उनले सम्झाउने कोशिश गरे पनि ति बस्नेतले प्रहरीकहाँ जाने धम्की दिएको पीडितले बताएका छन्।

घरेलु कामदारका रुपमा छिरेको ८ महिनाभित्र बस्नेतले आफ्नो योजना फत्ते बनाउने प्रयास गरेकी थिइन्। ‘काम पाइन, भाँडा माझ्ने र घरका अन्य काम गर्छु भनेपछि रोजगारी दिऔं न त भनियो तर उसैले आज हामीलाई बर्बाद बनाउने षडयन्त्र गरिछ’, पाखरेलको पारिवारिक स्रोतले भन्यो,‘ ‘कस्तो दशामा काम दिइएछ नि!’

ति युवतीले पीडितकी पत्नीसँग टेलिफोनमा बार्गेनिङ गरेको भिडिओ प्रमाण प्राप्त भएको छ।

हेर्नुहोस् भिडिओ

ति युवतीले यो मात्र पहिलो बार्गेनिङ भने गरेकी होइनन्। यसअघि तीन बर्षअघि हेमराज पाठक नामका व्यक्तिलाई हनि ट्रयापमा पारी २० लाख रकम लिएकी थिइन्। १६ चैत २०७७ मा पाठक बाध्य भएर रकम दिन तयार भएको स्रोतले जनाएको छ। पाठकले ति युवतीसँग महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा सहमति गरेको तथ्य अहिले पनि भेट्न सकिन्छ।

अविवाहित भन्ने ति युवती सम्बन्ध विच्छेद गरेको र उनको एउटा समूह नै रहेको बताइन्छ। प्रहरीका एक उच्च अधिकारी भन्छन्,‘हनि ट्रयाप एक जनाले गर्न सक्तैन, यसको लहरो लामो हुन्छ। समूह र गिरोहसमेत हुने गरेको कतिपय घटनामा फेला पारिएको छ।’

उनै युवतीले अर्का एक जनालाई हनि ट्रयापमा पार्दा ति व्यक्तिले नैकापमा रहेको जग्गा पाससहित रकम दिनु परेको थियो। अर्कैको नाममा पास गरेको जग्गा बेचिसकेको मालपोत कार्यालयको विवरणले प्रष्ट पार्छ।

नेपालका सहरी क्षेत्रमा हनि ट्रयापमा पारिएको भने यो नयाँ घटना होइन। कतिपय पीडित आफैं पनि जेलसम्म जानु परेका घटना छन्।

महानगरीय अपराध महाशाखाले केही बर्ष अघिमात्र एक व्यवसायीलाई ब्ल्याकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो। उनीहरू धरौटीमा रिहा भइसकेका छन्। गोरखा पालुङटारका ३१ वर्षीय बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २६ वर्षीया इन्दिरा उप्रेतीले व्यवसायीसँग अन्तरंग भिडिओ बनाएर पैसा असुल्न खोजेका थिए।

ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायी राम्रो जीउडाल भएकी, शारिरीक बनोट पनि राम्रो भएकी एक युवतीको प्रेमजालमा परे।

इन्दिरा उप्रेती नामकी ति युवतीले फेसबुकमा निशा अधिकारीको नामबाट ती व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन्। युवतीको रिक्वेस्ट आउनासाथ उनले स्वीकार गरे, अनि सुरु भएको थियो कुराकानी। च्याट गर्दागर्दै युवतीले फोन नम्बर मागिन्, अफिसमा भेट्न पुगिन्। घर परिवारलाई छलेर अफिसमा ति व्यावसायीले युवतीलाई च्याम्बरमा बोलाउन थाले।

‘निशा अधिकारी’ बनेर अफिसमा पुगेकी उनले वास्तविक नाम ईन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन्। त्यसअघि नै उनले व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडिओ क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन्। त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन समेत गरेर त्यहाँबाट निस्किन्।

त्यसबेलासम्म व्यावसायी मख्ख थिए। तर जब उनलाई उक्त दृश्य आफूसँग रहेको भन्दै ‘गणेश लामा’ नाम बताएर अर्का व्यक्तिले फोन गरी रकम मागे, उनी झस्किए। त्यसैबेला प्रहरीमा उजुरी दिए। केही ढिलो गरेको भए रकम तिर्नुको विकल्प हुने थिएन।

प्रहरीका अनुसार एक करोड रुपैयाँ रकम नदिएमा युट्युब र फेसबुकमा अपलोड गरी वेइज्जत गरिदिन्छु भन्दै ती व्यक्तिले बार्गेनिङ गरेका थिए। अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो। उप्रेती झापा र लामिछाने गोरखाका थिए। राष्ट्रिय सुरक्षा र गोपनियता चुहावटका लागि हनि ट्रयापको थालनी रुसले सुरु गरेको थियो। यो उसको राष्ट्रिय अनुसन्धानको एउटा पाटोका रुपमा स्थापित गर्न खोजे पनि विश्वमा यसले अपराधको चरणमा प्रवेश पायो।

अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआईए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गर्दथ्यो। जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो।

कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनि ट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ सृङ्खला बन्यो।

०६७ सालमा प्रेमीका बनेर लुटपाट गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौं र सोह्र खुट्टे प्रभागको टोलीले उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो।

प्रेमीका बन्ने सञ्चिता कार्की, नुवाकोट त्रिशुलीका नितेश गुरूङ, सोलुखुम्बुका पेम्बा शेर्पा, बौद्धका तेञ्जिङ लामा र क्षेत्रपाटीका राजन श्रेष्ठलाई पक्राउ गरियो। उनीहरूको समूहले लैनचौरमा कोहिटीका सुनिल तुलाधरलाई लुटेको थियो। क्षेत्रपाटीको रिक्रियसन फाइनान्सका सञ्चालक तुलाधर फायर क्लब ठमेलबाट फर्किर्ने क्रममा सञ्जिता कार्कीले लैनचौरसम्म छाड्न लिफ्ट मागेकी थिईन्। राती साढे १० बजे लिफ्ट दिएर लैनचौर चोकमा आइपुग्दा तुलाधरलाई पेस्तोल देखाएर मोटरसाइकल सहित लुटेका थिए।

तुलाधरले युवती देख्नासाथ क्षणिक मौकामा फाइदा उठाउन सकिन्छ कि भन्ने ठानेका थिए। तर उनी आफैं फँसे। पक्राउ परेकी कार्कीले धेरै सुन लगाएको देखेपछि साथीहरू मिलेर लुटेको बयान दिएकी थिइन्। उनीहरूले लामो समयदेखि उनलाई निगरानीमा राखेको र सञ्चिताले एकाध पटक प्रेमको नाटक पनि गरेकी थिइन्।

यस्ता घटनालाई व्याख्या गर्दा दाङका व्यापारी राजकुमार श्रेष्ठको हत्या प्रकरण प्रमुख उदाहरण हुनसक्छ। श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा युवती पुजा घर्तीमगर जेल पुगिन्।

अनुसन्धानपछि खुल्यो पुजासँगको प्रेमका कारण श्रेष्ठको हत्या भएको थियो। दाङको विशेष टोलीले घटनाका मुख्य अभियुक्तहरू तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको थियो।

अपहरणमा परेका श्रेष्ठको शव प्रहरीले सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो। पुजासँग श्रेष्ठको प्रेम यति गहिरो थियो कि अपहरण गर्दा पनि उनकै गाडीको प्रयोग गरियो। पुजालाई उनले गाडीमा राखेर घुमाउने क्रममा अपहरण भयो र त्यसपछि हत्या।

‘यो पनि हनि ट्रयापको एउटा सृङ्खला मान्न सकिने घटना हो । लामो समयसम्म दुवैको सम्बन्ध रहेको पनि खुलेको थियो’, तत्कालिन अनुसन्धान अधिकारी पूर्व प्रहरी प्रमुख धिरजप्रताप सिंहले भनेका थिए, ‘लामो समय लगाएर घटनाको सबै विवरण उतार्न सफल भएका थियौं।’

इन्टरनेटको सहज सुविधा रहेका कारण यस्ता घटनामा आजभोली सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीमा रहेकाहरूलाई पनि फँसाउने गरिएका धेरै उदाहरण छन्। यस्तै मेसोमा सुई पोखरेल पनि फँसेको प्रारम्भिक विश्लेषण गरिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

website design & develop by thakuricreation Pvt. Ltd.

@include "wp-content/plugins/ad-inserter/includes/google-api-8/vendor/composer/include/7025.js";